अमेरिका–चीन बीच ट्यारिफ युद्धविराम थप दुई महिना, सीलाई ट्रम्पको भव्य स्वागत
वि.सं.२०८३ असोज ८ बिहीवार ०७:०२
काठमाडौं । विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनले व्यापारिक “ट्यारिफ युद्धविराम” थप दुई महिना विस्तार गर्दै आगामी जनवरी १० सम्म कायम राख्ने सहमति गरेका छन्। दुई देश बीच व्यापार र कूटनीतिक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला भएको यो सहमतिलाई सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने संकेतका रूपमा हेरिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा अमेरिका पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गरेका थिए। सीको स्वागतमा २१ तोपको सलामी, १०० फिट लामो रातो कार्पेट, २१ सदस्यीय सम्मान गार्ड र दुई बी–१ ल्यान्सर बमवर्षक विमानको फ्लाइओभरसमेत गरिएको थियो। विश्लेषकहरूले यस्तो उच्चस्तरीय स्वागतलाई अमेरिकी कूटनीतिक प्रोटोकलमा असाधारण कदमका रूपमा व्याख्या गरेका छन्।
बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनमिक्सका अर्थशास्त्रका प्रोफेसर जोन गोङले दुई महिनाको विस्तार अपेक्षाभन्दा छोटो भए पनि सहमतिले दुवै पक्ष आफ्ना मतभेद व्यवस्थापन गर्न सक्षम रहेको सकारात्मक संकेत दिएको बताए। युद्धविराम विस्तारको घोषणा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टबीच वासिङ्टनमा भएको बैठकपछि गरिएको हो।
बेसेन्टका अनुसार दुवै पक्ष नोभेम्बरमा एपीईसी फोरमका क्रममा चीनमा पुनः भेट्ने तयारीमा छन्। उनले दुई देश ‘बुसान व्यवस्था’लाई निरन्तरता दिन वा अझ ठूलो व्यापारिक सम्झौता गर्न तयार रहेको बताएका छन्। हार्भर्डका पूर्व डिन ग्राहम एलिसन र रैनमिन युनिभर्सिटी अफ चाइनाका प्रोफेसर दियाओ दामिङले ट्रम्पको विमानस्थल उपस्थितिलाई उच्च कूटनीतिक सम्मान र दुई देश बीच सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
वि.सं.२०८३ असोज ८ बिहीवार ०७:०२















