प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
वि.सं.२०८३ असोज १८ आइतवार १२:५५
काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। धादिङ क्षेत्र नम्बर २ बाट खुला महिला तर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुला महिला तर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी थापा मगरले पार्टीको केन्द्रीय तहमा रहेर महिला, युवा तथा कलाकार क्षेत्रको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा सक्रिय थापा मगर नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हुन्। उनले नेपाली मौलिक लोकगीत तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छन्। उनका थुप्रै गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय छन्। उनको चर्चित गीत ‘ए आमा जाम भन्यो मलाई’ ले नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य लोकप्रियता हासिल गरेको छ। उक्त गीतलाई युट्युबमा झन्डै चार करोड पटक हेरिएको तथा सुनिएको छ। लोक तथा दोहोरी गीतको क्षेत्रमा उनले हासिल गरेको लोकप्रियता र लामो समयको सक्रियताले उनलाई कलाकारिता क्षेत्रसँगै सामाजिक तथा संस्थागत नेतृत्वमा समेत स्थापित गराएको छ।
थापा मगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्षसमेत हुन्। प्रतिष्ठानको नेतृत्व गर्दै उनले नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा कलाकारको हकहित, मौलिक संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई अवसर प्रदान गर्ने विषयमा निरन्तर काम गर्दै आएकी छन्। कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै थापा मगरले नेपाली कांग्रेसको इतिहास, संघर्ष, लोकतान्त्रिक मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै आफू पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्न अघि बढेको बताएकी छन्।
उनले विशेषगरी युवा पुस्ता र महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले महिलालाई नेतृत्व तहमा पुग्ने अवसर र वातावरण निर्माण गर्न आफूले भूमिका खेल्ने बताएकी छन्। कलाकारिता र सामाजिक क्षेत्रबाट प्राप्त अनुभवलाई राजनीतिक नेतृत्वसँग जोडेर अघि बढ्ने लक्ष्यसहित आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ। नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
उनको उम्मेदवारीलाई कलाकारिता तथा सांस्कृतिक क्षेत्रबाट कांग्रेसको केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखि सांगीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेकी थापा मगरको उम्मेदवारीले महिला तथा कलाकार समुदायको प्रतिनिधित्वका विषयलाई समेत कांग्रेसको महाधिवेशनमा थप चर्चामा ल्याउने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ असोज १८ आइतवार १२:५५














