बहुप्रतिभाशाली कलाकार दिप सागरको निधन

वि.सं.२०७९ भदौ २७ सोमवार १३:३४

काठमाडौं / नेपाल
बहुप्रतिभाशाली कलाकार दिप सागरको निधन भएको छ । उहाँको सोमबार विहान निधन भएको हो । ४२ वर्षीय उहाँको उपचारका क्रममा भेनस अस्पतालमा निधन भएको कलाकार शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँ मोडल, छायाँकार, निर्देशक तथा श्रृङ्गारका रुपमा कला क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । चलचित्र ‘पुरानो पुस्ता’निर्देशन गर्नुभएका सागरले थुप्रै लोकगीत र सिरियलमा अभिनय पनि गर्नुभएको छ ।
कला क्षेत्रका वहुविधामा आफूलाई संलग्न गराउँदै आउनुभएका उहाँ केही समयदेखि मृगौलाको समस्याबाट पिडित हुनुहुन्थ्यो । स्याङजाका दीपसागरले ५० को दशकको अन्त्यतिरबाट कोरस डान्सरका रूपमा करिअर सुरु गर्नुभएको थियो ।
उहाँले चलचित्र ‘नमस्ते डोल्पा’मा नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । सागरले अभियन गरेको लोकगीत ‘बेनीको बजार’ निकै लोकप्रिय रहेको छ । यस्तै ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्यो फुरुरु’, मेरो घान्दु्रक गाउँ’, ‘हङकङ आइडीले’लगायत दुई दर्जन भन्दा बढी बढी गीतको भिडियामा उहाँले अभिनय गर्नुभएको छ भने एकसय भन्दा बढी गीतका भिडियो निर्देशन गर्नुभएको छ ।
उहाँको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने कलाकार शेरबहादुर गुरुङले जानकारी गराउनुभयो । सागरका एक श्रीमति, एक छोरी र एक छोरा हुनुहुन्छ ।

वि.सं.२०७९ भदौ २७ सोमवार १३:३४