गैरआवसीय नेपाली संघ (NRNA) को अध्यक्ष पदमा विनय अधिकारीको उम्मेदवारी
वि.सं.२०८० भदौ ५ मंगलवार १३:५८
काठमाडौं । गैरआवसीय नेपाली संघ (NRNA) को अध्यक्ष पदमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आर्थिक अभियान दैनिकसँगको कुराकानीमा उनले आगामी असोज ३० गतेबाट काठमाडौंमा हुने एनआरएनको आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।
उनले एनआरएनमा भएका विकृति हटाउन र परिवर्तन ल्याउन उम्मेदवारी दिन लागेको बताए । उनले चाँडै उम्मेदवारी घोषणा सभा आयोजना गरी प्रतिबद्धतासमेत सार्वजनिक गर्ने बताए ।
हाल एनआरएनको उपमहासचिव रहेका उनले एनआरएनएमा युवा नेतृत्व आउनुपर्ने बताए । साथै उनले आगामी अधिवेशनबाट सही नेतृत्व चुन्न पनि आम मतदाता र शुभेच्छुकलाई आह्वान गरेका छन् । निवर्तमान कार्यसमितीलाई इंगित गर्दै उनले भने, ‘हिजो धेरैपटक उनीहरूलाई भोट दिएर के परिवर्तन भयो ? हेरिदिनुस् भन्ने हो ।’ विगतको नेतृत्वले व्यक्तिगत इन्ट्रेस्ट राख्दा संघमा धेरै समस्या देखिएको उनको भनाइ छ ।
विगतको नेतृत्वले लाप्राक बस्ती निर्माण र संस्थाको भवन बनाउँदा व्यक्तिगत इन्ट्रेस्ट राखेकोले एनआरएनको लगानीको सही सदुपयोग हुन नसेकेको उनको आरोप छ । ‘हामीले भूकम्पको बेला लाप्राक बस्तीको निर्माण गर्यौं । तर, त्यसको सही सदुपयोग भएन । त्यत्रो रकम खर्च गरेर ५ सय बढी घर बनायौं । अहिले ३५ परिवार पनि त्यहाँ बस्दैनन् । र, बस्न लायकको घर पनि बनेका छैनन् । लगानीको सदुपयोग भएन ।’
उनले उक्त बस्तीमा आधा अर्बभन्दा बढी लगानी भएको बताए । ‘त्यो रकम एउटा अस्पतालमा लगानी गरेको भए वा अन्य कुनै क्षेत्रमा लगानी गरेको भए ‘अर्कै’ हुन्थ्यो,’ उनले भने ।
उनले थपे, ‘त्यहाँ पनि पर्सनल इन्ट्रेस्टका कुरा आए होलान् । विगतको नेतृत्वले निर्णय गर्नुभयो, हामी थिएनौं । हामीले त करोडौं रुपैयाँ रकम पठाएको हो । त्यतिबेला म बेलायतको उपमहासचिव थिएँ । विश्वभरबाट पैसा पठायौं, त्यसको सदुपयोग नभएको देख्दा जो कोहीलाई पनि रून मन लाग्छ ।’
विगतको नेतृत्वको गलत इन्ट्रेस्टकै कारण संस्थाको विल्डिङमा समस्या भएको तथा पर्सनल इन्ट्रेस्टकै लागि किनिएको देखिएको उनको भनाइ छ । त्यसमा उचित छानबिन पनि नभएको उनले बताए ।
‘एनआरएन हाउसको कुरा पनि छ । त्यो पनि गलत ठाउँमा पर्यो । पर्सनल इन्ट्रेस्टकै लागि किनिएको देखियो । त्यसमा उचित छानबिन भएको छैन,’ उनले भने ।
स्वार्थ त्यागेर माथि उठ्नेबित्तिकै त्यहाँ परिवर्तन आउने र आफ्नो व्यक्तिगत फाइदाको लागि कसैले पनि संस्थाको दुरूपयोग गर्न नहुने उनको भनाइ छ । ‘मेरा लागि एनआरएनको एक रुपैयाँ पनि चाहिँदैन, बरू योगदान गर्ने हो । हामीले परिवर्तन ल्याउन पर्यो । यही परिवर्तनका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।
विगतको नेतृत्वमा पर्सनल इन्ट्रेस्ट देखिएकाले नेतृत्व परिवर्तनको माग राखेको उनले बताए । उनले भने, ‘एक पटक नयाँलाई भोट दिनुस्, केही परिवर्तन पक्कै आउँछ ।’
लामो समयदेखि एनआरएनमा क्रियाशील रहँदै आएका अधिकारी स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । अघिल्लो दुई कार्यकालमा बोलीमा अडिग रहने छवि बनाएका अधिकारीको अध्यक्ष उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अहिलेको अवस्थामा धेरैजनाले अगाडि बढ्नुपर्ने सुझाव दिएकाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुँदै जाने बताए ।
भविष्यमा नेपाल नै फर्किने र नेपालको राष्ट्रिय राजनीतिमा समेत जान सक्ने आफ्नो सोच भएकाले अहिलेसम्म बेलायतको नागरिकता समेत नलिएको उनले दाबी गरे ।
१५ वर्षदेखि बेलायतमा बसिरहेका अधिकारी नेपालमा दर्जनौं व्यवसायमा आबद्ध छन् । गोरखामा जन्मिएका अधिकारी एमबीए र एमए अध्ययन गरेका छन् । ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष उनी हाल यसका संरक्षक हुन् ।
अनलाइन भोटिङ हुने
एनआरएनको अधिवेशनमा अनलाइन भोटिङ हुनेछ । नेपाल आएर भोटिङ गर्न नसक्नेका लागि अनलाइन भोटिङको व्यवस्था मिलाइएको उनले जानकारी दिए । विदेशस्थित दूतावासमा पनि बुथ राखिने र त्यहाँबाट भोटिङ गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।
उनले संस्थाको विधान संशोधन गरेर उम्मेदवारीबारे प्रावधान बदिलएकाे जानकारी दिए । उक्त प्रावधान अनुसार उम्मेदवारी दिँदा दुईजना प्रस्तावक र दुईजना समर्थकको प्रावधान राखिएको उनले बताए ।
विश्वका ८२ देशमा नेपालीहरू संघमार्फत संगठित भएका छन् । ५० भन्दा बढी देशमा सक्रियरूपमा नै सहभागी छन् ।
अधिकारीका अनुसार एनआरएनमा अनलाइन रजिष्ट्रेशनमार्फत जोडिएका डेढ लाख बढी सदस्य छन् ।
वि.सं.२०८० भदौ ५ मंगलवार १३:५८