म्याग्दीमा जिप दुर्घटना, घाइतेलाई उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगियो
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:३५
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । बागलुङको तमान खोला देखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।
दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताए । उनका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुना तर्फ ठोक्काएका थिए ।
तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताए । घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । घाइतेका आफन्तले हेलिकप्टर मगाएर काठमाडौं गएका हुन् ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:३५