राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने
वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने घोषणा भएको छ। प्रतिष्ठानले भदौ १५ गते जारी गरेको विज्ञप्ती मार्फत बाढीका कारण कलाकार तथा परिवारमा परेको क्षती प्रति दुःख व्यक्त गर्दै विपद्को समयमा संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको खबर प्राप्त भएको छ।
प्रतिष्ठानका अनुसार बाढीका कारण आबद्ध कलाकारको मृत्यु भएमा उनका श्रीमान् र श्रीमती, छोरा छोरी वा एकाघर परिवारलाई ५१ हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। त्यस्तै आबद्ध कलाकारका आमा, बुवा, श्रीमान् , श्रीमती वा छोरा, छोरीको बाढीका कारण मृत्यु भएमा ३१ हजार रुपैयाँ राहत प्रदान गरिने भएको छ।
बाढीका कारण आबद्ध कलाकार घाइते भई उपचाररत रहेको अवस्थामा उपचार सहयोग स्वरूप २५ हजार रुपैयाँ सम्म राहत उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ। घाइतेको अवस्था र उपचारको आवश्यकता अनुसार सहयोग रकम निर्धारण गरिने कुरा केन्द्रिय अध्यक्ष रीता थापा मगरले बताईन्। त्यसैगरी बाढीका कारण आबद्ध कलाकारको घर, धन सम्पती तथा अन्य भौतिक सम्पतीमा क्षती पुगेमा २० हजार रुपैयाँ सम्म राहत उपलब्ध गराउने निर्णय भएको कुरा केन्द्रिय अध्यक्ष रीता थापा मगरले जानकारी गराईन्।
प्रतिष्ठानले राहत तथा सहयोग वास्तविक अवस्थाको आवश्यक छानबिन गरी उपलब्ध गराइने स्पष्ट पारेको छ। विपद्को कठिन घडीमा आफ्ना कलाकार तथा परिवारको साथमा रहनु संस्थाको दायित्व भएको भन्दै प्रतिष्ठानले सबै शाखा, समिति, कलाकार तथा शुभेच्छुकबाट आवश्यक सहयोग र सहजीकरणको अपेक्षागरिएको कुरा केन्द्रिय महासचिब शिब हमालले बताए।
वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११















