दिपाशा बिसीको १३ औं पुन्यतिथीको अवसरमा अमेरिका देखी शंकर बिसीको खुल्ला पत्र, अर्काे जुनी लियौ भने कलाकार नहुनु बहिनी
वि.सं.२०८० मंसिर ४ सोमवार १७:५७
काठमाडौं । मोडल तथा नायिका दिपाशा बिसीको कार्तिक २३ गते बिहिबार निधन भएको थियो । उनको जन्म सुर्खेतमा २०४९ असार २८ गतेका दिन भएको थियो । उनले कार्तिक २२ गते बुधबार बिष सेवन गरेपछि उनलाई थापाथली स्थित नर्भिक हस्पिटलमा लगिएको थियो र उनको निधन भएको घोषणा भईसकेपछि बिहिबार पोष्टमार्टमका लागी टिचिङ लगिएको थियो । उनको आमा दुबईबाट २५ गते शनिबार आईसकेपछि पोष्टमार्टम गरि शबयात्रा गरी पशुपती आर्यघाटमा लगेर अन्त्यष्टी गरिएको थियो ।
ऋण अनि चर्को ब्याजका कारण तनाबग्रस्त भएर मृत्युको बाटो रोजेर आफ्नो ब्युटी पार्लरका स्टाफहरुलाई भिडियो कल गर्दै बिष सेवन गरेको निकट ब्यक्तिहरुले बताएका छन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर ब्यवसाय गर्दै आईरहेकी थिईन् । उनले ब्युटी पार्लर ब्यवसाय सुरु गरे लगत्तै केही महिनापछि कोरोनाको महामारीका कारण केही समय ब्यवसाय ठप्प पनि भएको थियो । लकडाउनका कारण धेरै ब्यवसायी र नेपाली जनताहरु मारमा परे । यसै कारण पनि उनी ऋणको भारी बोकेको अनुमान गर्न सकिन्छ । दिपाशा बिसीले काठमाडौं मलमा मासिक रुपमा १ लाख २० हजार भाडा तिर्ने गर्थिन् भन्ने कुुरा उनका निकट साथीहरुबाट जानकारी आएको छ ।
उनी घरको जेठी छोरी थिईन् । उनले जेठो छोराको सरह सम्पुर्ण ब्यबहार सम्हालेकी थिईन् । साथै भाई र बहिनीलाई पनि आफैले पढाएकी थिईन् । उनका एक भाई र एक बहिनी छन् । दिपाशा बिसीको निधनले सिंगो कलाकारिता क्षेत्र स्तब्ध भएको छ । सबै कलाकारहरु भाबुक भएका छन् । धेरै कलाकारहरुले दिपाशा बिसीले किन यस्तो गरिन्, किन गलत बाटो रोजिन् भनेका छन् । पछिल्लो समय सांगीतिक क्षेत्र पनि धरासायी बन्दै गएको छ । सोचेको अनी राम्रो गीतले पनि बजार पाउन सकेको स्थिती छैन । पछिल्लो समय सांगीतिक क्षेत्रमा कमै ब्यक्तिहरुले मात्र सफलता पाएका छन् । सोचे जस्तो सफलता नपाएका कलाकारहरु डिप्रेशनको शिकार पनि बनेका छन् ।
दिपाशा बिसीमा हरेक प्रकारमा क्षमता हुँदापनि सांगीतिक क्षेत्रको बजार ओरालो लाग्ने स्थिती देखेर, ऋणको भारी अनी चर्को ब्याजका कारण डिप्रशनमा पुगेर बिष सेवन गर्न बाध्य भएको अनुमान गर्न सकिन्छ । उनी बि.सं. २०६८ सालमा फिल्म दुलही रानीबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली, चौबन्दी आदी चलचित्रमा अभिनय गरेकी थिईन् । उनी जलपरी नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । दिपाशा बिसीलाई टर्चर दिने ब्यक्तिहरुलाई मंसिर ५ गते अर्थात उनको १३ औं पुन्यतिथी पश्चात प्रहरीको सहकार्यमा अनुसन्धान गरी दोषी माथी कडा भन्दा कडा कारबाहीको माग गर्ने पारिवारिक स्रोतले जानकारी गराएको छ । उनै स्व. दिपाशा बिसीको बारेमा भाबुक हुँदै लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले खुल्ला पत्र लेखेका छन् ।
शंकर बिसीले भाबुक हुँदै लेखेको खुल्ला पत्र यस्तो छ :
मेरो प्यारो बहिनी दिपाशा… कसरी के लेखौं तिमीलाई…घरमा आमा अनी साना साना भाईबहिनी अनी घरको सम्पुर्ण जिम्मेवारी तिमीमा थियो । घरको जेठो छोराले गर्नुपर्ने कर्तब्य सबै तिमीले नै गरेकी थियौं । घरको आर्थिक स्थिती सुधार्न, भाई बहिनीलाई पढाउन अनी आमालाई केही खुसी दिन सक्छु की भनी काठमाडौं आएकी थियौं अनी कलाकारिता क्षेत्रमा । तिम्रो कलाकारिताले सबैको मन जित्यौ । साच्ची नै भन्ने हो भने तिम्रो टिपिकल नृत्यको म फ्यान नै हुँ । नृत्य संगै सबैलाई आदर गर्ने हसिलो स्वभाबले तिमी सबैकी प्यारी थियौ । सायद त्यो स्वभाव दैबलाई पनि मन परेछ क्यारे आज दैबको पनि प्यारो भयौ । कलाकारितामा जती देखिन्छ त्यती हुँदैन । त्यसैले तिम्रो सपनाहरु पुरा गर्न दिनरात खटी रह्यौ । हरेक कार्यक्रममा तिम्रो सहभागिताले उज्यालो हुन्थ्यो कार्यक्रम । तिमी संग प्रसस्तै पैसा नभएपनि, रिन धन सरसापट गरी ब्युटी सैलुन खोल्यौ । सायद त्यो बेला रिन धन गरेर आफ्नो सपनालाई साकार पार्नु तिम्रो उदेश्य थियो । त्यही बेला कोरोनाले पनी संसार स्तब्ध बनायो । सायद तिमीलाई पनि आर्थिक भार पर्यो होला । ६ महिना अगाडीको भेटमा रिन छ दाई गाह्रो भाको छ भन्दै थियौ । उता भाई बहिनी पढाउनु पर्ने, यता सैलुनको रिनले गर्दा तिमीलाई धेरै गाह्रो भाको रैछ नानी । नानी जिन्दगीमा उत्तारचढाव हुन्छ । यस्तो बाधाहरु आउछन् । यस्तो निर्णय नलिएको भए हुन्थ्यो । त्यो दिन राती ४ बजे फेसबुक हेर्दा तिम्रो त्यो खबरले आकाश खसे जस्तो भएको थियो । धर्ती भासिए झै भएको छ । सधै हासिरहने तिमीले सबैलाई रुवाएर संसारबाट बिदा लिएकी छौ । तिम्रो मनमा यती धेरै पिडा थियो भने शेयर गरेको भएपनि हुन्थ्यो । मनमा पिडा लुकाएर पनि हास्न सक्ने तिमी र तिम्रो महानतालाई सधै सम्झीरहने छु । तिम्रो सपना टुटेको छ । तिम्रो आमा भाई बहिनीलाई ठुलो चोट परेको छ । हे भगवान यो पिडा सहन सक्ने शक्ति देउ यो परिवार अनी हामीलाई । सारा ईन्डस्ट्री रोएको छ । सारा संसार रोएको छ । त्यो दिन हाम्रो लागी कालो दिन भएको छ । अब त हामी चाहेर पनि भेट्न सक्दैनौ है हामी । तिम्रो हसिलो मुस्कान कहाँ हेर्न पाईएला र अब । नानी सुनेको थिए तिमीलाई टर्चर दिएर यस्तो भएको रे । म चाहन्छु फोनको चेकजाच गरी टर्चर दिने माथी शक्त कारबाही होस् । जस्ले सामान्य लेनदेनमा मृत्युको शैयामा पुराउने टर्चर थियो उस्लाई तुरुन्त कारबाही होस् । नानी तिम्रो बैकुण्ठमा बास हस् । अर्को जन्म पाईछौ भने कलाकार भएर नजन्मनु । चलुन्जेल हाई हाई गर्छन् अनी चल्न छोडेपछि बाई बाई गर्छन् । स्वार्थी छ हाम्रो कलाकारिता क्षेत्र… भाबुक भएर तिम्रो सम्झनामा रुमल्लिएको पनि १३ दिन पुगेछ । १३ औं पुन्यतिथीको अवसरमा हार्दिक श्रद्धाञ्जली । तिम्रो स्वर्गमा बास होस् दिपाशा बहिनी ।
उही तिम्रो दाई शंकर बिसी
हालः अमेरिका
वि.सं.२०८० मंसिर ४ सोमवार १७:५७