वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
वि.सं.२०७९ असोज ३० आइतवार ०७:०२
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानूनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ ।
उपचारका क्रममा केही दिन अघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १ सय ३ वर्षको उमेरमा निधन भएको हो ।
अस्पतालबाट आवश्यक प्रक्रिय पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोक स्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनुहुनेछ ।
शताब्दी पुरुष जोशीले यस अघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गरेका थिए ।
वि.सं.२०७९ असोज ३० आइतवार ०७:०२