रामचन्द्र पौडेलको सहमतिबेगर देउवा पक्षले महाधिवेशन नसार्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन संवैधानिक समयसीमा भित्र नहुने स्थिति बन्दै गएपछि नेताहरु छलफलमा जुटेका छन् । भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । शीर्ष नेताहरु अब पार्टीको संवैधानिक संकट टार्न विकल्प खोजिरहेका छन् । भदौ २३ भित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी भदौ २३ गते केन्द्रीय कार्यसमितिको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ । नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन तोकिएको समयमा गर्न नसकिने स्थिति आएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढनीलकण्ठमा बुधरबार दिउँसो ३ बजेबाट शीर्ष नेताहरुको बैठक चलिरहेको छ । भोलि (बिहीबार) बस्ने केन्द्रीय कार्य समितिको बैठकका एजेण्डामाथि सहमति जुटाउन शीर्ष नेताहरु छलफलमा जुटेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिकाका साथै निर्वाचन निर्देशिका प्रस्तुत गर्ने एजेण्डा छ । तर, भदौ १६–१९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउने विषयमा काँग्रेसमा सहमति जुट्न सकेको छैन ।

सभापति देउवाले भदौ भित्र अधिवेशन उद्घाटन गरेर मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने अनौपचारिक प्रस्ताव गरेको बुझिएको छ । तर, त्यसका लागि पार्टीभित्र सबै पक्ष सहमत भए मात्र नयाँ कार्यतालिका ल्याइने स्रोत बताउँछ । अहिलेसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल भने महाधिवेशनको मिति पटक–पटक सार्ने पक्षमा छैनन् । यसअघि काँग्रेसले पाँच पटक कार्यतालिका संशोधन गरिसकेको छ ।

भदौमा महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने पौडेलको अडान छ । भदौभित्र महाधिवेशन गर्न नसकिए पार्टी वैधानिक संकटमा पर्ने पौडेलको भनाइ छ । सोमबार बसेको पौडेल पक्षीय केन्द्रीय समितिको अनौपचारिक बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोमबार र मंगलबार काठमाडौंमा भएको पौडेल पक्षीय जिल्ला सभापतिको बैठकले पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

भदौमा नियमित महाधिवेशन गर्न नसकिए पौडेलले अगाडि सारेको विशेष महाधिवेशनलाई कार्यान्वयनमै लैजानुपर्ने जिल्ला सभापतिहरूको निष्कर्ष छ । तर, भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा पुगेका देउवाले पौडेलको विशेष महाधिवेशनको प्रस्ताव पनि अस्वीकार गरिसकेको अवस्था छ ।

सभापति देउवा र महामन्त्री शशांक कोइराला मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा एक मत देखिएको पाइन्छ । काँग्रेसभित्रको यो परिदृश्यका बीचमा महाधिवेशनबारे सहमति जुटाएर केन्द्रीय कमिटी बैठकमा जाने तयारी भइरहेको छ ।

त्यसका लागि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत, नेता मिनेन्द्र रिजाल लगायत छलफल गरिरहेका छन् ।

नयाँ विकल्प दिन तीन नेताको सुझाव

मंगलबार साँझ देउवाले संस्थापनइत्तर पक्षीय नेताहरु डा। शेखर कोइराला, डा। मिनेन्द्र रिजाल र गगन थापासँग छलफल गरेका थिए । गगन थापाका अनुसार भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ र महाधिवेशन हुन नसके के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

आफूहरुले सबैसँग सहमति गरेर नयाँ विकल्प दिन सुझाएको थापाले बताए । जवाफमा देउवाले सोहीअनुसार आफूले संवाद थालेको बताएका थिए । देउवाले महाधिवेशन सार्ने परिस्थितिमा के कस्ता विकल्प छन् भनेर सोमबार प्रमुख निर्वाचन आयुक्त र महान्यायाधिवक्तासँग पनि परामर्श गरेका थिए ।

देउवा पक्षले सहमतिबेगर महाधिवेशन नसार्ने

देउवाले बुधबार बिहान आफू पक्षीय नेताहरुसँग पनि आन्तरिक छलफल गरे । देउवा पक्षीय नेताहरुको छलफलले पौडेल पक्षसँग सहमति भए महाधिवेशन सार्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहानको छलफलपछि रमेश लेखकले भने, ‘पार्टीभित्र सबै सहमत भए भने महाधिवेशन सार्ने विकल्पबारे सोच्न सकिन्छ । पार्टीभित्र सहमति भएन भने भदौभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिन्छ ।’

देउवा पनि सम्भव भएसम्म भदौभित्र महाधिवेशन गर्ने पक्षमै रहेको लेखकको भनाइ छ । उनले भने, ‘सकेसम्म महाधिवेशन भदौभित्र गर्ने हाम्रो निष्कर्ष हो । भोलिको केन्द्रीय कमिटीमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुन्छ । जे विषयमा सहमति हुन्छ, त्यहीअनुसार कार्यतालिका आउँछ ।’

क्रियाशील सदस्यता विवाद समाधान उन्मुख

काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद भने समाधान उन्मुख भएको नेताहरुले बताएका छन् । बारा, सप्तरी र धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ मा कायम रहेको नयाँ सदस्यता विवाद समाधान उन्मुख रहेको सहमहामन्त्री प्रकाश शरण महतले बताए ।

उनका अनुसार विजय गच्छदार, सुनील बहादुर थापा समूहका लगायत अन्य पार्टीबाट प्रवेश गरेका केही नेता कार्यकर्ताको हकमा देखिएको क्रियाशील सदस्यता विवाद पनि टुंगिएको छ ।

उनले भने, ‘क्रियाशील सदस्यता करिब टुंगिएको अवस्था छ । बारा र सप्तरीको विवादमा केही विषय टुंग्याउन बाँकी छ । हामीबीच सहमति भएकोमा उहाँहरु ९पौडेल पक्ष० ले कार्यान्वयनमा आनाकानी गर्नुभएको छ । आज त्यो विषयमा पनि छलफल हुन्छ ।’ त्यसका लागि क्रियाशील सदस्य विवाद समाधान उच्चस्तरीय समिति र पार्टी समायोजन समितिका बीच छलफल हुनेछ । बाँकी विषयमा समाधान निकाल्ने महतले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...